Sunday, July 31, 2016

सेयर धितो कर्जा, स्टक ब्रोकरेज कम्पनीको भूमिकामा राष्ट्र बैंक



नारायणप्रसाद सापकोटा

सेयर धितोमा दिईने कर्जालाई मार्जिन लेन्डिङ मानिने र यसको कोअर्डिनेशन स्टक ब्रोकरेज कम्पनीले गर्ने गर्छन् । यी कम्पनीले कति प्रतिशत मार्जिन लेन्डिङ कर्जा दिने र उठाउने भन्ने तय गर्दछन् ।

तर नेपालमा स्टक ब्रोकरेज कम्पनीको यो भूमिकामा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक देखिएको छ । विगतमा झैं यसपटकको मौद्रिक नीतिमा सेयर धितो कर्जाको व्यवस्था परिवर्तन गरिएको छ ।

बैंक तथा वित्तीय संस्था स्थापनको स्वीकृति दिने, अनुगमन गर्ने र सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको केन्द्रिय बैंक यस पटक पनि विगतमा झैं सेयर धितो कर्जाको विषयमा फसेको छ ।  यस पटक यस्तो कर्जा ५० प्रतिशत तोकिएको छ । सेयरको बजार मूल्य र १ सय ८० दिनको औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसमा आधारित भएर बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्नुपर्नेछ ।
केन्द्रिय बैंकले सुरुको चरणमा सेयरमा कति प्रतिशत कर्जा दिने भन्ने विस्तारित नीतिगत व्यवस्था गर्ने हो ।
तर बैंक तथा वित्तीय संस्था (अन्य मुलुकमा स्टक ब्रोकरेज) कम्पनीको तहमा ओर्लिएर सेयर धितो कर्जा कति प्रवाह गर्ने भन्ने नीतिगत व्यवस्था हरेक वर्ष केन्द्रिय बैंकले परिवर्तन कुन प्रजातान्त्रिक मुलुकमा गर्छ ?

सेयर बजार अनलाईन भएका मुलुकमा मार्जिन लेन्डिङको सवै काम ब्रोकरेज कम्पनीलाई दिईएको हुन्छ । बैंकहरुले पनि यो काम गर्न सक्छन् । नेपालको सन्दर्भमा सेयर बजार अझै अनलाईनमा नगएकोले यो काम बैंक तथा वित्तीय संस्थाले मात्रै पाएका हुन् । अनलाईन कारोवार सुरु भएपछि मार्जिन लेन्डिङको काम ब्रोकरेज कम्पनीले पाउने नै छन् ।
सेयरमा कर्जा दिने र भाउ घटेमा उठाउने कार्य क्रण दिने कम्पनीले गर्ने हो । केन्द्रिय बैंकले होइन । हामी थोरै ज्ञान भएकाले दिग्गजहरु बस्ने राष्ट्र बैंकलाई यो विषय कसरी सम्झाउनु ?

मेरो बुझाईमा राष्ट्र बैंकले स्थीर नीति पो दिनुपर्ने हो । लगानीकर्ता त विश्वस्त भएर लगानी गर्न पाउनुपर्ने हो । तर राष्ट्र बैंकले धेरै लामो अवधिदेखि यसो हुन दिएको देखिंदैन ।
विगतमा एकै आर्थिक वर्षमा चुक्तापु“जी बढाउने र घटाउने निर्णय गरेर राष्ट्र बैंकले सेयर बजारलाई आफुले चाहे अनुरुप खेलाएकै हो । अर्को औजार सेयर धितो कर्जालाई बनाईएको हो । नत्र मार्जिन लेन्डिङ कर्जालाई स्थिर बनाउनुको साटो चलाईराख्नुको अर्को कारण के छ ?
राष्ट्र बैंकका मान्छेले सेयर किन्न मन लागे यसको भाउ घटाउने नीति बनाउने र बिक्री गर्न मनलागे भाउ बढाउने नीति ल्याएकै हो । अहिले पनि यसैले निरन्तरता पाएकै छ ।
कति प्रतिशत कर्जा दिने र कसरी उठाउने भन्ने बैंक तथा वित्तीय संस्थाको काम हो । यसमा कुनै गैरकानुनी काम भए कारवाही गर्ने राष्ट्र बैंकले हो । तर यसो हुन सकेको छैन ।
अहिले बजार बढनुको प्रमुख कारण कर्जा तथा निक्षेपको न्युन व्याजदर हो । अर्को कारण म्युचुअल फण्डको लगानी सुरु हुन हो । अहिले बजारमा साना र नया“ लगानीकर्ताको लगानी जोखिममा छ । बजारको अहिलेको वृद्विले नया“ लगानीकर्ताको लगानी उच्च जोखिममा पुगेको तर्फ पो बरु राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले ध्यान दिनुपर्ने हो ।

( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )


No comments:

Post a Comment