Monday, September 5, 2016

नेपालको सेयर बजारमा अनलाइन काराबार सुरु भएपछि मात्रै यो विश्व अर्थतन्त्रसँग जोडिन पुग्नेछ

केही वर्षअघिसम्म नेपालको सेयर बजारका लगानीकर्ता नेपाल स्टक एक्सचेन्जको प्रांगण उभिएर ब्रोकरलाई सेयर किनबेचको अर्डर गर्थे । 
अहिले लगानीकर्ता स्टक ब्रोकरको कार्यालय गएर खरिद विक्रीका लागि अर्डर दिन्छन् । ब्रोकर र तिनका प्रतिनिधिले किनबेच गरिदिन्छन् । 
अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ता आफ्नो एकाउन्ट खोल्न स्टक ब्रोकरको कार्यालय जान्छन् । त्यसपछि घरमै बसेर वा विश्वको जुनसुकै कुनामा पुगेर पनि सेयर किनवेच गर्छन् । पैसा अनलाइनबाटै ब्रोकरको एकाउन्टमा सार्न सक्छन् । 
............................................................................
नेपालमा सेयरको यस्तो अनलाइन किनबेच सुरु हुने कहिले ? यसको उत्तर सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले दिएको छैन । तर, केही समयअघि काभ्रेमा आयोजित एक कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले सेयरको अनलाइन कारोबार सुरु गर्नुपर्ने आवश्यकता दर्शाएका थिए । 
केही साताअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने लाभांश लगानीकर्ताको बैंक खातामा जम्मा गर्न निर्देशन जारी गरेको छ । साधारण सेयरका लागि आवेदन गर्दा फर्ममा लगानीकर्ताले उल्लेख गरेको बैंक खातामार्फत पैसा फिर्ता गर्नुपर्ने नयाँ व्यवस्था पनि गरिएको छ । बोर्डले पनि सबै सूचीकृत कम्पनीका लागि यस्तो निर्देशन जारी गरेको छ । 
लगानीकर्ताका लागि झट्ट सुन्दा यो धेरै राम्रो अभ्यास हो । तर सेयरको अनलाइन कारोबार सुरु हुने हो भने लगानीकर्ताले स्टक ब्रोकरेज कम्पनीमा आफ्नो एकाउन्ट खोलेपछि त्यसमा नै यस्तो रकम जम्मा हुने गर्छ । यसका लागि यस्तो अलग्गै निर्देशन आवश्यक पर्दैन ।  
कम्पनीबाट आएको लाभांश र हकप्रद सेयर सोझै लगानीकर्ताको खातामा आउँछ । लगानीकर्ताले तिर्नुपर्ने पैसा पनि ब्रोकर एकाउन्टमार्फत् नै कम्पनीलाई बुझाउन सकिन्छ । अनलाइन काराबार सुरु भएपछि सेयर किन्ने लगानीकर्ताले सबै काम स्टक ब्रोकरेज कम्पनीमार्फत गर्ने हुन्छ । अहिलेजस्तो कहिले डिम्याट एकाउन्ट खोल्न एकातिर जानुपर्ने कहिले लाभांश लिन अर्कोतिर धाउनुपर्ने झन्झटबाट लगानीकर्ताले मुक्ति पाउनेछन् ।  
नेपालको सेयर बजारमा अनलाइन काराबार सुरु भएपछि मात्रै यो विश्व अर्थतन्त्रसँग जोडिन पुग्नेछ । अहिले त नेपालको सेयर बजार विश्व अर्थतन्त्रसँग जोडिएकै छैन । विश्वमा जेसुकै भएपनि नेपालको सेयर बजारलाई असर गर्दैन । युरोपियन युनियनबाट अलग हुने बेलायती जनमत संग्रहको निर्णयलगत्तै विश्वभरका सेयर बजार ओरालो लागे । नेपालको सेयर बजारलाई केही असर गरेन । यसको मुख्य कारण नेपालको सेयर बजार विश्व अर्थतन्त्रसँग नजोडिनु नै हो । 
विश्व अर्थतन्त्रसँग नेपालको सेयर बजारलाई जोड्न अनलाइन काराबारसँगै विदेशी लगानीको ‘इन एन्ड आउट’ (भित्रिने र बाहिरिने) प्रक्रिया पनि सरल हुनुपर्छ । अहिलेसम्म नेपालमा विदेशी लगानी गर्न जति सजिलो छ विदेशी मुद्रा नेपाल बाहिर लग्न त्यति नै अप्ठेरो छ । यस्तो अवस्थाले नेपाली अर्थतन्त्र नै विश्व अर्थतन्त्रसँग एकाकार हुनसकेको छैन । नेपालको अर्थतन्त्र र सेयर बजारलाई चलायमान बनाउन विदेशी लगानी सम्बन्धी अहिलेको व्यवस्था संशोधन आवश्यक छ । 
नेपालमा पैसा पठाएजस्तै फिर्ता गर्न पनि सजिलो हुने र सेयरको अनलाइन कारोबार सुरु हुने हो भने विश्वभर छरिएका धेरै नेपालीको लगानी ह्वात्तै बढ्नेछ । 
छिन छिनमा कम्प्युटरमा बसेर सेयर किनबेच गर्नेछन् भने आवश्यक पैसा नेपालको बैंक एकाउन्टमा जम्मा गर्नेछन् । तर यसका लागि चाहिएको बखत पैसा ल्याउन सक्ने व्यवस्था पनि अत्यावश्यक हुन्छ । 
अनलाइन कारोबार सुरु भएपछिमात्रै नेपालको सेयर बजार विश्व बजारसरह आधुनिक पनि हुनेछ । अहिले  स्टक ब्रोकर कम्पनीमा लगानीकर्ता उपस्थित भएर खरिदविक्रीका लागि लिखित आदेश दिनुपर्छ । अनलाइन कारोबारले यस्तो अवस्था अन्त्य गर्नेछ । घर वा विश्वको कुनै पनि ठाउँमा बसेर नेपालको सेयर किनवेच गर्ने सुविधा अनलाइन कारोबारले उपलव्ध गराउनेछ । 
स्टक ब्रोकरेज कम्पनीले नै आफ्नो वेबसाइटमा सबै कम्पनीका सबै सूचना उपलब्ध गराउनुपर्नेछ । सबै कम्पनीको नाफा, नोक्सान, लाभांश, विगतको सेयर मूल्य, विश्व अर्थतन्त्रका समाचार र विश्लेषण पनि स्टक ब्रोकरेज कम्पनीको वेबसाइटमा लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने हुन्छ । नेपालको राजनीति, अर्थतन्त्रका सवै सूचना ब्रोकर कम्पनीमार्फत् लगानीकर्तालाई उपलब्ध हुनेछ । 
अनलाइन कारोबारले नै लगानीकर्तालाई नम्बरसहितको परिचयपत्र उपलब्ध गराउनेछ । अनलाइन कारोवार सुरु भएपछि लगानीकर्ता अहिलेजस्तो ब्रोकरेज कम्पनीमा उपस्थित भएर अनावश्यक हल्ला फिँजाउन सक्नेछैनन् । अहिले त सबै लगानीकर्ताबीच अनावश्यक हल्ला फैलाउन सजिलो छ । सेयरको अनलाइन कारोवार सुरु भएपछि लगानीकर्ताबीच आपसमा भेटघाट नै हुँदैन । भेटघाट नै नभएपछि अनावश्यक हल्ला फैलाउन पनि असजिलो हुनेछ । 
अनलाइन कारोबार सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जले सुरु गर्ने लक्षणै देखिंँदैन । यसका लागि आधुनिक स्टक एक्सचेन्ज स्थापना गर्नुपर्छ । निजी क्षेत्रको स्वामित्वमा आधुनिक स्टक एक्सचेन्ज स्थापना र कारोवार सुरु भएपछि बरु सरकारी स्वामित्वको एक्सचेन्जँसग मर्ज गरे हुन्छ । यसका लागि आवश्यक काम अगाडि बढाउने भने धितोपत्र बोर्डले नै हो । 
अहिले बजारमा सेयर मूल्य घटाउन र बढाउन विभिन्नरूपमा लबिङ हुनेगरेको छ । एक वर्षको अवधिमा नेपाली सेयरको इन्डेक्स डबल भएर केही करेक्सन भएको छ । यसमा थोरै करेक्सन हुँदा नियामक निकाय बोर्डको आलोचना गर्दै बजारमा मूल्य बढाउन लगानीकर्ताले दबाब दिए । सेयरको मूल्य बढाउन अर्थमन्त्रीको चाकरीमा  धाउने प्रवृत्ति पनि दोहोरियो । 
यसो गर्नु बजारलाई प्राकृतिकरूपमा अगाडि बढाउन नदिनु हो । बजारलाई कुनै नियन्त्रण र हस्तक्षेपविना अगाडि बढाउने हो भने यस्ता प्रवृत्ति लगानीकर्ताले त्याग्नुपर्छ । सेयर बजारको मुख्य आकर्षण नै यसको उतारचढाव हो । बजार उसको नियमअनुरूप नै चल्छ । यसलाई नियन्त्रणमा लिने प्रयास लगानीकर्ताले गर्नुहुँदैन । 
बजार १,८८१ को उच्च तहमा पुगेको धितोपत्र बोर्डकै नीतिले हो । बोर्डले सेयर किनेको रसिदका आधारमा कर्जा उपलब्ध गराउनेसँगै वाणिज्य बैंकहरूमार्फत् म्युचुअल फन्ड स्थापना गर्न सकिने व्यवस्था गरेपछि बजार यो उचाइमा पुगेको हो । 
तर अहिले बजार विकासको एजेन्डामा नगई लगानीकर्ता मूल्य बढाउने अन्य विकल्पमा लागेका छन् । अहिलेको यो रवैयाले नेपालमा सेयर बजारको विकास पनि हुँदैन र बजार माथि उक्लिन पनि कठिन हुनेछ । बजार त दीर्घकालमा बढ्ने नै हो । यसमा कुनै शंका छैन । तर छोटो अवधिमा सेयरको मूल्यलाई  धेरै माथि लैजाने कोसिस गर्दा यो झन् तल आउन सक्छ भन्ने वास्तविकतालाई लगानीकर्ताले भुल्नु हुँदैन । 
केही उतार चढाव देखिनु सकारात्मकै हो । सधैँ बढाउने वा घटाउने पक्षमा मात्रै देखिने प्रवृत्तिले अहिलेको सेयर बजारमा नयाँ र साना लगानीकर्ता जोखिममा परेका छन् । हुन त यसपटक केही करेक्सनसहित बजार अगाडि बढेको छ । तर निरन्तर बढ्नुमात्रै पर्छ भन्ने प्रवृत्तिमा नयाँ लगानीकर्ता डुब्ने जोखिम अधिक छ । 
अब बजारलाई स्वस्थ्यरूपमा अगाडि बढाउन र अप्राकृतिक नियन्त्रण खोज्ने कार्यलाई निरुत्साहित गर्न नेपाली सेयर बजार अनलाइन कारोवारमा प्रवेश गर्नुपर्छ । विदेशी लगानी भित्रिने र बाहिरिने कार्य सहज हुनुपर्छ । अनि बजार वास्तवमा अन्तर्राष्ट्रियस्तरको हुनेछ । अहिलेको नेपाली सेयर बजार त राजनीतिकरूपमा विश्वबाट अलग बसेको उत्तर कोरियाजस्तै हो । विश्व अर्थतन्त्रसँग नेपाली सेयर बजार नजोडेर ‘अलग टापु’ का रूपमा नराख्ने उपाय अनलाइन कारोबार र सहज वैदेशिक लगानी नीति नै हो । इच्छा गर्ने हो भने अनलाइन कारोबार सुरु गर्न धेरै समय लाग्दैन । अनलाइन कारोबारबाट सेयर बजार इन्डेक्स लगानीकर्ताले चाहेजस्तै ५००० भन्दा माथि जानेछ ।