Tuesday, July 26, 2011

पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष भुसाललाई पक्राउ गर्न पत्राचार

नारायण सापकोटा
काठमाडौं साउन ९

केही समयअघि तरलताको समस्यामा परेको काठमाडौंको महाबौद्धस्थित पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष छवीलाल भुसाललाई अनियमितता गरेको अभियोगमा राष्ट्र बैंकले कारवाही प्रकि्रया अगाडी बढाएको छ ।

बैंकको कर्जा प्रवाहमा अनियमितता गरेको अभियोगमा पक्राउ गरि छानवीन गर्न अर्थमन्त्रालय मार्फत राष्ट्र बैंकले सोमबार पत्राचार गरेको छ । बोधार्थ गृह मन्त्रालयलाई समेत बुझाईएको छ ।
बैंकिङ कसुर ऐन वमोजिम कारवाही अगाडी बढाउन राष्ट्र बैंकले पत्रमा अनुरोध गरेको छ ।
राष्ट्र बैंकले पूर्वजानकारी बिनै पिपल्स फाइनान्स बन्द भएको खवर पाउना साथ फाइनान्समा विशेष निरिक्षण टोली खटाएको थियो । टोलीले फाइनान्सका तीनवटै कार्यालयको अध्ययन गरि प्रतिवेदन बुझाएपछि भुसालले अनियमित रुपमा कर्जा प्रवाह गरेको खुलेको हो । कार्यकारी अध्यक्ष भुशाललाई १५ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने अधिकार साचालक समितिले दिएको थियो । यस अधिकारको दुरुपयोग गर्दै कर्जा प्रवाह भएको राष्ट्र बैंकका अधिकारीहरुले बताए ।
तरलताको अभावमा केही समयअघि कम्पनीले आफुखुसी कार्यालय बन्द गरेको थियो । संस्थागत निक्षेपकर्ताले अवधि पुगेपछि नविकरण नगरी निक्षेप झिकेर लगिदिएपछि फाइनान्सले सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको थिएन । केही दिनपछि फाइनान्सले कार्यालय खोलेर निक्षेपकर्ताको रकम फिर्ता गर्न थालेको हो ।

फाइनान्सले प्राविधिक कारणले कार्यालय बन्द गर्नु परेको भन्दै पैसा फिर्ता गर्न नसकिने सुचना टाँसेको थियो । चैतसम्मको वित्तीय अवस्था राम्रो देखिएपनि पछिल्लो समय तरलता अभावले गाँजेका कारण तत्काल पैसा फिर्ता गर्न नसक्ने अवस्थामा कम्पनी पुगेको थियो । राष्ट्र बैंकले कम्पनीमा रहेको १७ करोड ४८ लाख ४० हजार रुपैयाँ निक्षेपमध्ये अवधि पुगेको ७ करोड फिर्ता लगेपछि कम्पनीमा चरम तरलता अभाव भएको थियो ।

गत वर्षको नाफाबाट चुक्ता पुँजीको साढे सात प्रतिशत नगद लाभांस दिएको फाइनान्सका महाप्रबन्धक केशवप्रसाद भट्टराईले राष्ट्र बैंकका अधिकारीहरुलाई भेट्दै निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा छाडेर कार्यकारी अध्यक्ष फरार भएकाले कार्यालय बन्द गर्नु परेको बताएका थिए ।

दिन दिनै निक्षेप घट्ने तर कतैबाट पनि आउने अवस्था नभएपछि फाइनान्सका कार्यकारी अध्यक्ष भुसाल विदा वसेका थिए । भुसाल अहिले सम्पर्कमा छैनन् । फाइनान्स स्रोतका अनुसार भुसाल मुटुको उपचार गर्न दिल्ली पुगेका छन् ।



महाबौद्धको केन्द्रिय कार्यालयसहित त्रिपुरेश्वर र रुपन्देहीको सिद्धार्थनगर शाखासमेत अहिले साचालना आईसकेका छन् ।
२८ करोड ९० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ८९ लाख रुपैयाँ छ । एक अर्ब ४ करोड रुपैयाँ त कर्जा प्रवाह नै गरेको छ । कम्पनीले कुल कर्जामध्ये जग्गा खरिद र प्लटिङका लागि मात्रै ५८ करोड ५७ लाख घरकर्जा ३० करोड ६२ लाख र ओभरड्राफ्ट कर्जा २३ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ । निक्षेपको तुलनामा कर्जा वढी प्रवाह गरेकाले पनि कम्पनीमा चरम तरलता अभाव भएको हो । कम्पनीको कर्जा-निक्षेप अनुपात ८७ दशमलव ५७ प्रतिशत छ । यो ८५ प्रतिशतभन्दा कम हुनु पर्छ । चालु वर्षमा यस्तो अनुपात ८० प्रतिशतमा झर्नुपर्छ ।

चैतसम्म कम्पनीले ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुँजी पर्याप्तता अनुपात २६ दशमलव ९९ प्रतिशत छ । राष्ट्र बैंकले यो अनुपात कम्तिमा ११ प्रतिशत कायम राख्नु पर्ने व्यवस्था गरेको छ । कम्पनीको खराव कर्जा राष्ट्र बैंकले तोकेको सीमा ५ प्रतिशतभन्दा तल अर्थात ३।०७ प्रतिशत छ ।

प्रति सेयर आम्दानी २ दशमलव २५ प्रतिशत रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ९२ दशमलव ८८ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ ११६ दशमलव ९६ र प्रति सेयर कुल सम्पतिको मूल्य ४५८ दशमलव १७ छ ।

No comments:

Post a Comment