Wednesday, September 22, 2010

अल्पकाललाई हेरेर सेयरमा लगानी नगर्न बोर्डको आग्रह

नागरिक संवाददाता
काठमाडौं असोज 5

धितोपत्र बजार बिकास तथा सुधारका लागि आवश्यक पुर्वाधार निर्माणको कार्य अगाडी बढेको जनाउँदै धितोपत्र बोर्डले लगानीकर्तालाई संयमित भएर लगानी गर्न आग्रह गरेको छ । नेपाली धितोपत्र बजारको भविष्य उज्वल रहेको जनाउँदै बोर्डले अल्पकाललाई मात्र नहेरीे लगानी गर्नसम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।
बोर्डले सुचीकृत धितोपत्रहरुको बजार मूल्य सूचकांक क्रमिक रुपमा घटदै आएको प्रति बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

धितोपत्र लगानीकर्ताहरुले सेयरमा लगानी गर्दा कम्पनीको हरेक पक्षको जानकारी लिई सुसूचित भएर बजारको अवस्थाको समेत आवश्यक अध्ययन गरी सुझबुझपूर्ण तवरले निर्णय गर्नु पर्ने सुझाव बोर्डले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

बजारमा समय समयमा चल्न सक्ने हल्ला बहकाउ वा आधारहिन अनुमान वा अपेक्षाका आधारमा मात्र धितोपत्र खरीद बिक्री निर्णय लिनु उपयुक्त नहुने बोर्डले जनाएको छ । लगानीकर्ताहरुले अल्पकालमा धितोपत्र विक्री गर्नेहरुको बढ्दो संख्यालाई मात्र हेरी हतोत्साहित भई विक्री गर्ने निर्णय गर्दा जोखिम न्युनिकरण हुनुको सट्टा जोखिम अरु बढ्न सक्ने सम्भावना बोर्डले औंल्याएको छ ।


धितोपत्र बजारको बिकास र विस्तारका लागि संस्थागत लगानीकर्ताको प्रवेश गराउन म्युचुअल फण्ड सम्बन्धी नियमावली २०६७ स्वीकृत भैसकेको जानकारी बोर्डले दिएको छ । म्युचुअल फण्ड संचालन गर्न चाहने कम्पनीहरुलाई बजार प्रवेशको बाटो खुला भएको छ । लगानीकर्ताहरुले म्युचुअल फण्ड मार्फत दक्ष लगानी सेवा प्राप्त गर्ने अवसर समेत पाउने विज्ञप्तिमा छ ।

सम्पूर्ण धितोपत्रधनी निष्काशनकर्ता कम्पनीको विद्युतीय अभिलेख राखी धितोपत्रको नामसारीलगायतका कार्य विद्युतीय प्रणालीबाट शिघ्र सम्पादन गर्न धितोपत्रको केन्द्रीय निक्षेप कम्पनी को स्थापना गर्ने कार्य शुरु भैसकेको छ । यस्तो कम्पनीको नियमन गर्न आवश्यक पर्ने धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

कम्पनी स्थापना तथा संचालन गर्न स्टक एक्स्चेन्जबाट भारतको सेन्ट्रल डिपोजिटरी सर्भिससँग आवश्यक समन्वय गरी काम कारवाहीहरु अगाडि बढिसकेको छ । एक्स्चेन्जबाट धितोपत्र कारोवारमा प्रतिस्पर्धी सेवा उपलब्ध गराउन र बजार बिस्तार गर्न आवश्यक धितोपत्र दलाल थप गर्ने कार्य लामो समयपछि पुनः सूचारु भएको छ ।

नेपालको धितोपत्र बजारलाई समयबद्ध रुपमा बिकास गर्दै लैजाने उद्देश्यले विश्व बैंकको सहयोगमा अन्तर्राष्ट्रिय विज्ञबाट पुँजी बजार विकास गुरु योजना तर्जुमा गर्ने कार्य यही कातिक देखि शुरु हुने बोर्डले जनाएको छ । बोर्डको संस्थागत क्षमता अभिबृद्धि गरी धितोपत्र बजारको बिकास गर्न भारतको सेक्युरिटि एण्ड एक्सचेन्ज बोर्डको एक बिशेषज्ञ टोलीले अध्ययन गरेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ ।

No comments:

Post a Comment