Saturday, September 18, 2010


राष्ट्र बैंकले १ हजार किलो सुन बिक्री गर्ने

नारायण सापकोटा
काठमाडौं भदौ  31
दशैं तिहारमा सुनको अभाव हुन नदिन राष्ट्र बैंकको भण्डारणमा रहेको १ हजार किलो सुन बिक्री गरिने भएको छ ।
भन्सार वृद्विका लागि कानुनी व्यवस्था हुन नसकेपछि आयात बन्द भएपछि राष्ट्र बैंकले बजारलाई सहज अवस्थामा ल्याउन भण्डारमा रहेको सुन बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले हरेक साता १ सय किलो सुन र १ हजार किलो चाँदी बजारमा बिक्री गर्नेछ । राष्ट्र बैंकसँग अहिले ५ सय मेटि्रकटन सुन र १ लाख ३४ हजार किलो चाँदीको भण्डार छ । यसको मूल्य राष्ट्र बैंकले नै तोक्नेछ । भारतमा भन्दा यता धेरै मूल्य फरक नपर्ने गरि मूल्य तोकिने केन्द्रीय बैंकका अधिकारीहरुले जनाएका छन् ।

भारतको बजार अनुरुप सुन र चाँदीको भन्सार बढाउने अध्यादेशको म्याद सकिएपछि आयात रोकिएको थियो । आयात रोकिएपछि भारतिय बजारबाट अवैध रुपमा मुलुकमा सुन भित्रिरहेको छ । यसले मुलुकले राजस्व र भारतिय रुपैयाँ समेत गुमाउनु परेको छ ।

बजारमा मूल्यमा समेत एकरुपता छैन । व्यवसायी बीचको असमझदारीले बजारलाई अस्थिर बनाएको छ । सुनको मूल्य नेपाल सुनचाँदी कला व्यवसायी संघ नेपाल सुनचाँदी आभुषण व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी संघलाई मूल्य तोक्ने अधिकार दिइएपछि उनीहरु बीच विवाद बढेको हो । अहिले व्यवसायिकले बैंकमा रहेको सुन खरिद गरेका छैनन् । अहिले बैंकहरुसँग १ सय ३० किलो सुन मौज्दात छ । मूल्य तोकि विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बनाएको संयन्त्रको निर्णय पनि व्यवसायीले पालना गरेनन् ।
यसले अस्थिरता बढाउने विश्लेषण गर्दै सरकारको अनुरोधमा राष्ट्र बैंकले भण्डारमा रहेको सुन बिक्री गर्ने निर्णय गरेको एक अधिकारीले बिहीबार नागरिकसँग बताए । राष्ट्र बैंकको साचालक समितिबाट यो प्रस्ताव पारित भैसकको छ ।

बैंकहरुमा रहेको सुन व्यवसायीले नलगेको जनाउँदै राष्ट्र बैंकले बजारमा प्रशस्त सुन रहेको अनुमान गरेको छ । गत आर्थिक वर्षमा ५० अर्बको सुनचाँदी आयात भएकोले बजारमा अभाव नहरेको राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ ।

बढेको भन्सार दर कार्यान्वयनमा नआएमा नेपालमा प्रति दशग्राम सुनको मूल्य १ सय ३० रुपैयाँ हुन्छ । भारतमा ४ सय ७० रुपैयाँ छ । बढेको दर अनुसार चाँदी प्रतिकिलो १६ सय रुपैयाँ मूल्य पर्छ । भारतमा २ हजार ४ सय रुपैयाँ छ । अध्यादेश मार्फत बढेको भन्सार नजोडेमा चाँदीको प्रतिकिलो मूल्य ३ सय रुपैयाँमा झर्छ । भारतमा २ हजार ४ सय नै रहन्छ । यसले अवैध निकासी बढ्ने अनुमान छ ।


बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३८ हजार रुपैयाँसम्म पुगेको छ । बैंकको मूल्य अनुसार सुन प्रति तोला ३६ हजार ७ सय रुपैयाँमा पाइन्छ । माग अनुसार सुन नभएको भन्दै व्यवसायीले ३८ हजार ५ सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् ।
व्यवसायीलेसुनमा लगाएको कोटा प्रणाली खारेज वा स्थगित गर्न समेत माग राखेका छन् । उनीहरुले सुन विधेयक टुङ्गो नलागेसम्म झिटीगुन्टाबाट आयातको व्यवस्था गर्न मिलाइ दिन आग्रह गरेका छन् ।

प्रति १० ग्राम १ सय ३० रुपैयाँ भन्सार दर कायम हुँदा एक बर्षमा नै सुन ४२ अर्बको आयात भएर मुलुकको शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ भएपछि सरकारले अध्यादेशमार्फत भन्सार दर बढाएको थियो । सरकारले गत चैतमा अध्यादेशमार्फत भन्सार दरलाई बढाएर प्रति दशग्राम ४ सय ७० रुपैयाँ पुर् याएको थियो । त्यसपछि सुन आयातमा कमी आएर शोधनान्तर घाटा गत बर्ष २ अर्ब ६० करोडमा झरेको छ ।

No comments:

Post a Comment